युवा भलिबल स्टार शरण : सपना पूरा भयो, लक्ष्य बाँकी छ

नेपालमा धेरैजसो खेलाडीले आफ्नो करियरको सुरुवातमा परिवारभित्रै संघर्ष गर्नुपर्छ । निकै थोरै खेलाडीले मात्रै सुरुदेखि परिवारको साथ र सहयोग प्राप्त गर्छन् । यस्तै, भाग्यमानीमध्येका एक हुन् शरण सामरी क्षेत्री ।

शरणले गत वर्ष भएको नेपाल भलिबल संघको एनभीए अवार्डमा इमर्जिङ प्लेयरको अवार्ड प्राप्त गरे । त्यसअघि उनले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यहाँसम्म आउन आफूलाई पाइला–पाइलामा परिवारको सपोर्ट रहेको सुनाउँछन् शरण ।

धादिङमा स्कुल पढ्दादेखि नै भलिबल खेल्न थालेका शरणले कुनै दिन राष्ट्रिय टिममा पुग्ने सपना देखेका थिए । अन्ततः उनको त्यो सपना अहिले पूरा भइसकेको छ । तर, उनका कैयन् लक्ष्यहरू अझै पूरा गर्न बाँकी छन् ।

धादिङ स्थायी घर भएका शरण खेलाडी मात्र नभएर राष्ट्रसेवक कर्मचारी पनि हुन् । नेपाली सेनाको जागिरेका रुपमा उनी त्रिभुवन आर्मी क्लबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता खेल्छन् ।

सुरुदेखि नै उत्कृष्ट

धादिङ ज्वालामुखी गाउँपालिकास्थित मैदीमा जन्मिएका शरण परिवारको एक्ला छोरा हुन् । उनले एसएलसी र उच्चमाविसम्म गाउँकै स्कुलमा पढे । ठूलोचौरबाट माविसम्मको अध्ययन सकाएका उनले संस्कृत उमाविमा प्लस टु पढेका थिए । तर, नेपाली सेनामा जागिर खाने चक्करमा लागेपछि उनले १२ कक्षाको पढाइ पूरा गर्न पाएनन् ।

स्कुलमा पढ्दादेखि नै उनमा भलिबलको लत लागिसकेको थियो । स्कुलस्तरीय प्रतियोगिता हुँदा उनको नाम कहिलै छुट्दैन’थ्यो । स्रोत केन्द्र स्तरीय प्रतियोगिता मैदी र ढोलामा हुन्थ्यो ।

‘लगभग वर्षमा ४–५ वटा प्रतियोगिता हुँदा हामी सधैँ च्याम्पियन हुन्थ्यौँ,’ शरणले पुराना दिन सम्झिए ।

उनले ८ कक्षा पढ्दादेखि भलिबल खेल्न थालेका हुन् । ८ देखि १० कक्षासम्म नै उनको टिम च्याम्पियन बन्यो । उच्चमाविस्तरीयमा पनि उही सिलसिला जारी रह्यो । प्राय खेलमा शरणको टिम च्याम्पियन बन्दा शरणले धेरै व्यक्तिगत अवार्डहरू जिते ।

‘वर्षमा ३–४ वटा खेलमध्ये एक–दुई वटाबाहेक अरूमा म नै बेस्ट प्लेयर भएको छु,’ शरणले भने ।

नलाङ ढोला धादिङमा खेल भइरहन्थ्यो । त्यसमा उनले केही न केही अवार्ड पाउँथे । ‘बेस्ट प्लेअर, बेस्ट स्पाइकर, बेस्ट सर्भर केही न केही पाइरहन्थे । प्रमाणपत्र र तीन/पाँच हजार रुपैयाँ पुरस्कार हुन्थ्यो । उनले स्कुलमा पढ्दा पहिलोपटक तीन हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

शरणले दुईपटक राष्ट्रपति रनिङ सिल्ड पनि खेले । पहिलोपटक ९ कक्षामा हुँदा चितवनमा भएको राष्ट्रपति रनिङ सिल्डको जिल्लास्तरीय भलिबल खेलेर फाइनलमा पुगेका थिए । फाइनलमा भने पराजित भए । दोस्रोपटक हेटौंडामा खेलेका थिए ।

उनलाई भलिबल खेल्न घरमा बुबा–आमाको पूरा सपोर्ट थियो । ‘छोराले भलिबलमै केही गर्छ भन्ने विश्वास बुबाआमामा थियो । जहाँ गेम हुँदा पनि, घरमा जे समस्या परे पनि मेरो खेल छुट्दैन’थ्यो,’ शरणले भने ।

शरणको घरमा बुबा–आमा र हजुरआमा गरी चार जना मात्र छन् । एक्लो छोरा भएकोले माया त प्रशस्त पाउने नै भए । त्यसमाथि खेलमा पनि समर्थन भएपछि उनको यात्रा सहज बन्यो ।

पढाइ छाडेर सेनामा

भलिबल राम्रो खेल्ने भएकै कारण शरणले नेपाली सेनामा प्रवेश पाए । कक्षा १२ मा पढिरहँदा उनी सेनामा भर्ती भएका हुन् ।

‘मेरो अंकल सुबेदार हुनुहुन्थ्यो । भलिबल राम्रो खेल्छौ, अहिले जागिर खायौ भने सजिलो हुन्छ भन्नुभयो । मैले पनि कोसिस गरौं न त भनेर आवेदन दिएँ । फ्याट्टै नाम निस्कियो,’ शरणले सुनाए ।

त्यसपछि उनी पढाइ नै छोडेर जागिरतिर लागे । उनको १२ कक्षाको पढाइ पूरा हुन पाएन । अझै पनि पढाइलाई निरन्तरता दिने सोचमा भने उनी छन् ।

२०७३ सालमा सेनामा भर्ति भएका उनले सुरुमा नुवाकोटको विदुरमा गएर गएर एक वर्ष तालिम गरे । २०७४ साल जेठमा उनी तालिम सकाएर काठमाडौं आए । विदुरबाट पासआउट भएर आएपछि उनको युनिट छाउनस्थित जगदल गणमा प‍र्‍यो । त्यहीँबाट उनलाई भलिबलमा जाने अवसर मिल्यो ।

‘त्यहाँ हाम्रो सुबेदार पूर्वराष्ट्रिय खेलाडी दीप खड्का हुनुहुन्थ्यो । उहाँले नै क्लबमा ल्याउनुभयो,’ शरण भन्छन्, ‘जगदलमा बसेको ४ महिनापछि म २०७४ कात्तिक ९ गते त्रिभुवन आर्मी क्लबमा आबद्ध भएँ र खेल सुरु गरेँ ।’ त्यहीँबाट उनको भलिबलमा करियर सुरु भयो ।

त्यसपछि उनको दैनिकी नै क्लबमा ट्रेनिङ गर्ने र भलिबल खेल्ने बन्न थाल्यो । आर्मीबाट उनले सुरुमा पोखरामा भएको एनभीए राष्ट्रिय भलिबल लिग च्याम्पियनसिप खेल्ने मौका पाए । त्यसपछि आर्मीले खेल्ने अन्य प्रतियोगताहरूमा पनि उनी समावेश हुन थाले ।

सेन्ट्रल जोनमा नपर्दा

शरण र दुर्गा खड्का सँगसँगै त्रिभुवन आर्मी क्लबमा पुगेका थिए । उनीहरू सँगै ट्रेनिङ गर्थे । तर, दुर्गाले एभीसी सेन्ट्रल जोनमै राष्ट्रिय टिममा स्थान बनाए । शरणले भने राष्ट्रिय टिममा पर्न थप केही महिना कुर्नुपर्‍यो ।

शरणले सुरुमा आर्मीबाट घरेलु प्रतियोगिताहरू खेले । अन्तर्राष्ट्रिय प्रतियोगिता खासै भइरहेको थिएन । त्यसपछि राष्ट्रिय खेलकुदमा भाग लिए । नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुदपछि उनीसमेत २५ जना सेन्ट्रल जोनको क्याम्पको लागि छनोट भएका थिए । उनी २५ बाट १८ जनामा पनि परे । तर, अन्तिम छनोटमा पर्न सकेनन् ।

त्यसको करिब तीन महिनापछि नेपालमै १३औं दक्षिण एसियाली खेलकुद हुँदै थियो । फेरि पुरानै २५ जनाको क्याम्प राखियो । शरण पनि परे । त्यसपछि भने उनले कडा मेहनत गर्न थाले ।

‘सेन्ट्रलमा फालिनुपर्दाको पीडा थियो । देशको लागि खेल्ने हुट्हुटी थियो । त्यसैले सक्दो मेहनत गरेँ,’ शरणले भने, ‘अन्ततः सागका लागि अन्तिम १४ मा पर्न सफल भएँ ।’

घरेलु टोली भएकोले सागमा १४ जना राखियो । यसपटक दुर्गा र शरण राष्ट्रिय टिममा सँगै भए । शरणसँगै रोविन चन्द र द्वारिका थापा राष्ट्रिय टिममा पहिलोपटक परेका थिए ।

राष्ट्रिय टिममा डेब्यु

शरणले आर्मी क्लबमा गएको दुई वर्षपछि राष्ट्रिय टिममा स्थान बनाएका हुन् । घरेलु कोर्टमा घरेलु दर्शकअघि साग हुँदै थियो । नेपालको पुरुष टिमले सागमा अहिलेसम्म पदक जित्न सकेको थिएन र यसपटक कम्तीमा कास्य पदक जित्ने लक्ष्य थियो । इन्डोनेसियामा भएको एसियाडमा नेपालको टोलीलाई प्रशिक्षण दिइसकेका नेदरल्याण्ड्सका प्रशिक्षक लेस्ले डी जोङ आएका थिए ।

घरेलु टिमबाट साग खेल्न सबै टिम उत्साहित थिए । सागकै तयारीस्वरुप नेपालले भारतमा पनि मैत्रीपूर्ण खेल खेल्ने तयारी गर्‍यो ।

नेपालले आफ्नो समूहको पहिलो खेल बंगलादेशविरुद्ध खेल्दै थियो । राष्ट्रिय टिममा परे पनि शरणलाई कोर्टमा कहिले छिर्न पाउँछु भन्ने यकिन थिएन । टिममा उनको पोजिसनमा खेल्ने रोविन चन्द र विशाल विक जस्ता खेलाडी थिए ।

उनले पहिलो खेलमै पर्छु भनेर सोचेका पनि थिएनन् । तर, कोचले आफ्नो नाम पनि सुनाउँदा दंग परे ।

‘बंगलादेशसँग पहिलो गेम थियो । अघिल्लो दिन कोचले मसहित छ जना पहिलो रोजाइका खेलाडीको नाम लिनुभयो,’ शरणले उत्साहित हुँदै सुनाए, ‘म खुसीले उफ्रिएँ । खाना पनि रुचेन । अनौंठो डर र उत्सुकताले मलाई घेरेको थियो ।’

भोलिपल्ट बंगलादेशविरुद्ध उनले सुरुमै खेले । उनको खेल राम्रै भएको थियो । लेस्लेले उनको जम्प र पावर हाइट रिच मन पराएका थिए ।

त्यसो त सागभन्दा अघि भारतमा नै उनको खेलबाट कोच प्रभावित भएका थिए । त्यही भएर उनलाई सुरुमै अवसर दिएका थिए ।

सागको दोस्रो खेलमा भारतविरुद्ध पनि उनले खेले । तर, त्यसमा नेपालको राम्रो प्रदर्शन हुन सकेन । भारतको भन्दा नेपालको टिम निकै कमजोर थियो ।

नम्बर वान बन्ने लक्ष्य

शरणले आर्मी क्लब हुँदै राष्ट्रिय टिमबाट खेलीसकेका छन् । राष्ट्रिय स्तरको खेलमा उनी आर्मीका नियमित सदस्य हुन् । अब के छ त उनको लक्ष्य ?

‘अब उत्कृष्ट खेलाडी बन्ने लक्ष्य छ । नेपालको नम्बर एक भलिबल खेलाडीको रुपमा चिनिएर सबैको हाई–हाई पाउन चाहन्छु,’ उनले भने ।

शरणले अब ४–५ वर्ष भलिबल खेल्ने सोचेका छन् । त्यसपछिको लक्ष्य चाहिँ तय भएको छैन ।

शरणले आफ्नो मात्र नभएर परिवारको इच्छा पनि पूरा गरेका छन् । ‘घरबाट पनि सहयोग छ । बुबा–आमाको इच्छा जे थियो त्यो पूरा भइरहेको छ । बुबाआमाले निरन्तर हौसला दिनुहुन्छ,’ शरणले भने ।

लक्ष्यसँगै उनलाई चुनौतीबारे पनि थाहा छ । राष्ट्रिय टिममा रहिरहन सहज नहुने उनले बुझेका छन् ।

‘टिममा प्रतिस्पर्धाको भावना छ । मेरो पोजिसनमा ३–४ जना उस्तै छौँ । त्यसैले आफूलाई जहिल्यै तयारी अवस्थामा राख्नुपर्छ,’ शरणले भने ।

राष्ट्रिय टिममा डेब्यु गरिसकेपछि शरणले एनभीएबाट इमर्जिङ खेलाडीको अवार्ड पाएका थिए । भविष्यमा राम्रो गर्न सक्ने युवा खेलाडीलाई यो अवार्ड दिने गरिन्छ । यसलाई उनी मेहनतको फल भन्छन् ।

‘आफ्नो मेहनत कति छ, त्यसअनुसार फल मिल्ने हो,’ शरणले भने, ‘यस्तो अवार्डले जिम्मेवारी थपिएको जस्तो महसुस भयो । अझै राम्रो खेल्नुपर्छ भनेर हौसला बढेको छ ।’

शरणलाई मन पर्ने खेलाडी पनि गत वर्ष आफ्नो पोजिसनमा उत्कृष्ट घोषित भएका थिए । जापानका युजी निशिदा उनलाई मनपर्छ ।

‘निशिदा पनि अपोजिट स्पाइकर नै हुन् । उनको र मेरो पोजिसन पनि एउटै हो । म पहिला इमर्जिङ प्लेअर बनेँ । उनी पछि विश्वकपमा उत्कृष्ट अपोजिट स्पाइकर बने,’ शरणले भने ।

२०१९ मा जापानमै भएको एफआईभीबी विश्वकपमा २० वर्षीय निशिदाले बेस्ट अपोजिट स्पाइकरको अवार्ड जितेका थिए । नेपालमा भने शरण पूर्व राष्ट्रिय खेलाडी सञ्जय अर्यालबाट प्रभावित छन् ।

‘हामी भर्खर काठमाडौँ आउँदा उहाँको खेलहरू हेर्थौँ । युट्युबतिर पनि कहिलेकाहीँ हेर्छु,’ उनले भने । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेमा मानबहादुर श्रेष्ठको खेलबाट पनि उनी प्रभावित छन् ।

शरणलाई सुरुवाती समयमा प्रशिक्षण दिएका प्रशिक्षक कपिल किशोर श्रेष्ठ उनी भविष्यमा स्टार हुन सक्ने खेलाडी भएको बताउँछन् ।

‘उनी १७ महिना ट्रेनिङ गरेर छोटो समयमै राष्ट्रिय टिममा परे,’ श्रेष्ठले भने, ‘युवा, क्षमतावान, मेहनती छन् । साथै टेक्निक चाँडै फलो गर्ने र अनुशासनको पक्ष पनि राम्रो छ ।’

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

46 Views