कोभिडपछि सिनेमा हेर्ने संस्कृति बदलिनेछ ?

कोभिड-१९ को प्रकोप र यसको निर्मलीकरणको भविष्यवाणी गर्न जति गाह्रो छ, कोभिडपछिको सिनेमाको स्वरूपलाई निर्क्यौल गर्न उत्तिकै कठिन छ ।

कोभिडको प्रकोपले पूरा मानव सभ्यता नै विचलित र संकटग्रस्त भएको बेला अब यसको समाधान कसरी होला र आउने दिनहरूमा कसरी अगाडि बढ्न सकिएला ? ठोकुवा गर्न सकिने स्थिति छैन । अन्य क्षेत्रहरूजस्तै सिनेमा क्षेत्र पनि यो विचलनबाट मुक्त हुने कुरा भएन।

अझ सिनेमा क्षेत्र त निर्माणदेखि प्रदर्शनसम्म नै मान्छेको सामूहिक सहभागितामा निर्भर हुने भएकाले यो क्षेत्र अत्यधिक प्रभावित छ । सिनेमाको निर्माण हुने र प्रदर्शन हुने जुन परम्परागत ढाँचा छ, कोरोनाले त्यसमा धावा बोलेको छ । अतः वैकल्पिक उपायहरूको खोजी गर्ने बाध्यत्मक स्थिति आइलागेको छ । नेपाली सिनेमाका लागि सिनेमा निर्माण र प्रदर्शनका नयाँ शैली र संस्कारको खोजी गर्ने मौका पनि हो यो।

परम्परागत शैलीहरूमा मात्र पूर्ण निर्भर नभई नयाँ प्रविधिले सिर्जना गरेको नयाँ मञ्चहरूसँग अनुकूलता खोज्न जरुरी छ ।

सिनेमा हलहरू यतिबेला भूतघरझैं भएका छन् । त्यसका व्यवसायीहरू ठण्डाराम र संकटग्रस्त छन् । सिनेमा प्रदर्शनको एकोहोरो शैलीमा मात्रै निर्भर भएको हाम्रो नेपाली सिनेमा यतिबेला आफ्नै अस्तित्व संकटको गहिरो शोकमा छ ।

गुल्जार हुनेछ सिनेमा घर

तर प्रत्येक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यो संकटले हामीलाई सम्भावनाहरू उत्खनन गर्न झक्झकाएको छ । ढिलो चाँडो यो प्रकोप निर्मूल होला र हामी फेरि स्वतन्त्र समयमा पुगौंला । मलाई के लाग्छ भने कोरोनाको अन्त्य भएको दिन फेरि हाम्रो सामूहिक भावना जुर्मुराउनेछ। मान्छे, समूह जमघट, भेला मन पराउने जात हो । त्यसका लागि ऊ अनेक बहाना खोज्छ र त्यही मान्छेको स्वभावमा टेकेर सिनेमाको संस्कार यहाँसम्म आइपुगेको हो ।

सिनेमा हलको संस्कार कहिल्यै मर्दैन । कोभिडको प्रकोप अन्त्य भएको दिन सिनेमा हलहरू झन् धेरै जुर्मुराउनेछन् । अहिले समूहमा बाँच्न नपाएको दमित मान्छे सिनेमा हलमा झन् धेरै जानेछ र धेरैपछि हाम्रा हलहरू हाउसफुल हुनेछन् ।

तर सुरक्षाको अनुभूति चाहिँ कसरी गर्न सकिएला ? अहिले नै भन्न सकिने स्थिति छैन । समग्रमा भन्दा हाम्रो नेपाली सिनेमाले अब वैकल्पिक संस्कारहरू खोज्न सक्यो भने परम्परागत आधारहरूमा मात्रै निर्भर नभएर समानान्तर संस्कार स्थापित हुनेछन् ।

जीवन मूल्यको बोध बोकेर फर्कनेछ सिनेमा

यतिबेला संसारका मान्छेहरू एउटा साझा संकटमा गुज्रिएर एउटै डर पालेका छन् । आफ्नै आँखा अगाडि तर आँखाले देख्न नसक्ने सूक्ष्म आकारमा मृत्यु ढुकेर बसेको छ र जीवन मूल्यलाई छाम्न खोज्दै छ मान्छे । आर्थिक, सामाजिक र अस्तित्वको संकटले रनभुल्लमा परेको मान्छेको साझा चेतनाको प्रतिबिम्ब अबको सिनेमामा आउनेछ । यसको लागि एउटा दृष्टान्त दिनु उचित होला ।

जब मानव सभ्यतामा ठूलो खति गरेर दोस्रो विश्वयुद्ध भयो, त्यसपछि सिनेमालगायतका अन्य कला सौन्दर्यमा मानवीय मूल्यको स्थान सबैभन्दा महत्वपूर्ण भइदियो ।

युद्धमा मरेका लासहरू र बगेको रगतको थुप्रोमा उभिएर सभ्यताले जीवनको मूल्यबोध गरेको थियो । सिनेमामा त्यो आध्यात्मिक चेत परिवर्तन भएका थिए । व्यवसायको नाममा उडन्ते कथा भन्न अग्रसर भइरहेको विश्वका ठूला सिनेमाका कारखानाहरूलाई कोरोनाले ठेगान लगाइदिएको छ।

एलियन र मुस्तन्डेहरूको स्वैरकाल्पनिक संसारमा विचरण गराएर पैसा असुलिरहेका सिनेमाका ठूला कारखानाहरूका प्रिमाइसहरू अब त्यति विश्वासयोग्य नहोलान् । किनभने यतिबेला मानव जगतले बुझ्यो कि सबैभन्दा डरलाग्दो कुरा त आफ्नो समिपमै रहेछ र त्यो साह्रै सुक्ष्म रहेछ । अनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ जीवनको मूल्यबोध रहेछ । कोभिडपछिको सिनेमा बचाकीले यो चेतनामा छलाङ मार्नेछ भन्ने लाग्छ ।

सिनेमा संस्कृतिको विचलन

सिनेमा प्रदर्शनीको सय वर्षभन्दा लामो इतिहासमा सिनेमा हलहरू निर्विकल्प मञ्चको रूपमा रह्यो। सिनेमा हलविना सिनेमाको अस्तित्वको कल्पना गर्न कठिन छ । अँध्यारो कोठामा जीवनभन्दा ठूला दृश्यहरू र वातावरणीय ध्वनिको गहिराइमा बन्दी हुनुको जुन अनुभूति छ, त्यसलाई अन्य प्रदर्शनीका मञ्चहरूले कहिल्यै विस्थापित गर्न सक्ने छैनन्।

हलमा प्रदर्शन नहुने श्रव्यदृश्यलाई सिनेमा मान्ने कि नमान्ने भन्ने ठूलो बहस छ यतिबेला संसारभर । तर प्रविधिको उदण्ड वेगसँगै सिनेमा हलको संस्कार कमजोर हुँदैछ र जतिसुकै खेद प्रकट गरे पनि डिजिटल प्रदर्शनीको संसार उग्र गतिमा अगाडि बढ्दैछ ।

सिनेमा अनुभूतिका आधारभूत कुराहरू मञ्च फरक हुँदैमा फेरिँदैनन् । तैपनि सिनेमा हलको संस्कारको अनुभूति डिजिटल मञ्चहरूले दिन सक्दैनन् । डिजिटल माध्यमबाट आउने श्रव्यदृश्यको अगगिन्ती भेलमा ‘अब्सुल्ट सिनेमा’लाई छुट्याउन पनि गाह्रो पर्नेछ ।

सिनेमा हलको  ‘सिनेफिलिया’ हराएर जानेछ । प्रदर्शनीको माध्यम र हेर्ने तरिका फरक हुँदा सिनेमा संस्कारमा पक्कै विचलन आउनेछ । तर वास्तविकता के हो भने हलमा प्रदर्शनी हुने परम्परा पूर्ण रूपमा बन्द कहिल्यै हुँदैन। हलको अनुभूतिलाई अनगन्ती डिजिटल मञ्चहरूले पछ्याउन खोज्ने मात्र हो । हल पूर्ण रूपमा बन्द हुने हो भने अनगिन्ती श्रव्यदृश्यको भिडमा सिनेमाको अस्तित्व पनि हराएर जानेछ।

विश्व सिनेमाको प्रयास र हाम्रो लाचारी

सिनेमाको अस्तित्व संकटमा परेको बेला सिने क्षेत्रमा आफ्नो परिश्रम बेचेकाहरू विचलित भएका छन् र नयाँनयाँ सम्भावनाहरूको खोजीमा लागेका छन् । धेरै देशले यो संकटको निजीकरण गर्नका लागि यसमा आश्रितहरूको संरक्षणको लागि कोष छुट्याउने र अनुदान उपलब्ध गराउने नीति ल्याएका छन् । महत्वपूर्ण उद्योगमा आएको संकटलाई लिएर विविध निकायहरू चनाखो भएका छन् । तर हाम्रोतिर कसैलाई केही मतलब भएन ।

सिनेमा उद्योग अर्थपूर्ण, सम्मानित उद्योग कहिल्यै रहेन । यो संकटको घडीमा यस क्षेत्रलाई बचाउन राज्यले चाल्नुपर्ने पहलकदमीको अनुभूति नहुनु अस्वाभाविक लाग्छ । सिनेमाको सम्भावनामाथि गम्भीर बहस नहुनु हाम्रो विडम्बना रह्यो ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा सिनेमाको भविष्यलाई लिएर गम्भीर बहस भइरहेका छन् । भर्चुअल माध्यमबाट कसरी सिनेमालाई बचाउन सकिन्छ भनेर प्रयास भइरहेका छन् । भर्चुअल सिनेमा महोत्सव र डिटिजल प्रदर्शनीका मञ्चहरूको उपस्थितिले क्रान्तिकारी छलाङ मारेका छन् । तैपनि यी सबैको उपस्थितिले मात्र सिनेमाको संकट टार्न सक्ने छैनन् ।

सामान्य समयको प्रतीक्षा गर्नु र सिनेमा पुरानै शैलीमा फर्किन आशा गर्नुबाहेक सम्पूर्ण सिनेमा क्षेत्रसँग अर्को विकल्प छैन । भर्चुअल माध्यमले जतिसुकै टालो हाल्न खोजे पनि सिनेमा एक्जिस्ट गर्नका लागि सिनेमाको संस्कार नै आवश्यक पर्छ । सामान्य दिनको प्रतीक्षामा यो क्षेत्रले कति मूल्य चुकाउनुपर्ने हो त्यसको न्यूनीकरणका लागि सचेत निकायको दायित्व हो ।

तर हाम्रोमा त्यो जिम्मेवारीको भारी कसैलाई उठाउनु छैन । सिनेकर्मीहरू रोजगारी हराएर भोकै छन्, व्यवसायीहरू टाट पल्टिँदैछन् । सिनेमाको निरन्तरताका लागि सिनेकर्मीको निरन्तरता चाहिन्छ । त्यो आगो यतिबेला निभ्यो भने हाम्रो क्षेत्रले लामो समयसम्म त्यसको मूल्य चुकाइरहनुपर्नेछ ।

Share This Story !

तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा nepaldabali@gmail.com मा पठाउनुहोला । यस नेपाल-डबली खबर (www.nepaldabali.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।

81 Views